बैतडीमा निषेधाज्ञालाई निरन्तरता,( के गर्न पाइन्छ, के पाइदैन ? आदेश सहित हेर्नुहोस )
बैतडी असार १५ ।बैतडीमा खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । मंगलबार राती १२ बजे सम्मका लागि जारी निषेधाज्ञा असार ३१ गते राती १२ बजे सम्मका लागि कायम गरिएको हो ।
कोभिडको संक्रमण घट्दो क्रममा रहेपनि पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले. जानकारी दिनुभयो । नेपाल सरकार मन्त्री परिषदको निर्णय, कोभिड १९ को संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर असार ३१ गते सम्म निषेधाज्ञा लाइ निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्रशासनले मंगलबार प्रमुख जिल्ला अधिकारी द्वारा हस्ताक्षरीत आदेश जारी गर्दै निषेधाज्ञालाई निरन्तरता दिइएको जनाएको हो । अब सबै कार्यालय संघ संस्थाबाट प्रदान हुने सार्वजनिक सेवा जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरेर गर्न पाइने भएको छ । सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहलाई आलोपालो गरेर गर्न आदेश गरिएको छ ।यस्तै होटल व्यवसायहरु विहान ७ बजे देखि बेलुकि ६ बजे सम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै सवारी साधनको हकमा सिट क्षमताको आधा यात्रु मात्र बोक्ने गरि विहान ७ बजे देखि बेलुकि ७ सम्म सञ्चालन गर्न पाईने भएको छ । अन्तिम संस्कारहरुमा सहभागि हुदा सम्बन्धीत परिवार वा समुदायले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सिमित व्यक्तिहरुको उपस्थितमा गर्न पर्ने आदेशमा भनिएको हो ।
भिडभाड हुने कार्य भने गर्न पाइने छैन् । कुनै पनि सभा, सम्मेलन, गोष्ठि, सेमिनार, सैलुन, जिमखाना समूहमा खेलिने खेलकुद र पुस्तकालय खोल्न नपाइने भएको छ । विबाह व्रत बन्धको हकमा स्थानीय प्रहरी संगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर बढीमा १० जनाको सहभागितामा मात्रै गर्न पाइने भएको छ ।
तर भोज भतेर भने पूर्णरुपमा वन्देज गरिएको छ । कोभिड महामारीको समस्या देखाएर कालोबजारी , जम्मा खोरी गर्ने , मुल्य वृद्धि गर्ने , कृत्रिम अभाव सिर्जना गर्ने , म्याद सकिएका खाद्य बस्तु विक्रि वितरण गर्नेलाइ नियन्त्रणमा लिएर कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । बैतडीमा बैशाख २० गते देखि निषेधाज्ञा जारी रहेकाे छ। अहिले पाँचाै पटक खुकुलो पारेर निषेधाज्ञा थपिएको हो ।