आज धान दिवस, दही चिउरा खाएर मनाइँदै
काठमाण्डौ – आज असार १५ धान दिवस। राष्ट्रिय धान दिवस आज दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ।
यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन्।विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धान उत्पादन बढाउन भने चुनौती छ।
चालु आर्थिक वर्ष २०७७-०७८ को १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन ।
गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो।थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने सरकारको दाबी छ। यो वर्ष ६० लाख टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ। कृषि मन्त्रालयका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ।
यो वर्ष मनसुनको सुरुमै पानी परेकाले देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु भएको छ। काठमाण्डौ उपत्यकासहित पहाडी र पश्चिम तराईका धेरै ठाउँमा रोपाइँ लगभग सकिएको कृषि मन्त्रालयले जनाएको छ। धान खेतीका लागि यो वर्ष रासायनिक मलको अभाव नहुने पनि सरकारले दाबी गरेको छ।