बैतडी : मेलौलीको चितुवा प्रभावित क्षेत्रका नागरिकलाई सोलार वितरण
जनक साउँद–बैतडी–असार ०५/ बैतडीको मेलौली नगरपालिकाको चितुवा प्रभावित क्षेत्रका नागरिकहरुलाई सोलार वितरण गरिएको छ । डिभिजन वन कार्यालय बैतडीको आर्थिक सहयोग र नगरपालिकाको पहलमा चितुवाको त्रासमा बाच्दै आएका नागरिकहरुलाई सोलार वितरण गरिएको हो ।
चितुवाको आतंक न्यूनीकरणका लागी नगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर ९ का चितुवा प्रभावित नागरिकहरुलाई सोलार वितरण गरिएको नगरपालिकाकी उपप्रमुख राधा ओझाले जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट घाईते भएका र ज्यान गुमाएकाहरुको परिवारलाई उज्यालोका लागी सोलार वितरण गरिएको उहाँले बताउनुभयो । चितुवा प्रभावित क्षेत्रमा बढीजसो दलित नागरिकहरुको बसोबास रहेकोले आर्थिक अभाव कारण सोलार किनेर जडान गर्न सक्ने अवस्था नरहेकाले नगरपालिकाको पहलमा सोलार बितरण गरिएको नगरउपप्रमुख ओझाको भनाई छ ।
उक्त क्षेत्रमा लामो समयदेखि चितुवाले आतंक मच्चाउदै आएको छ । रातिको समयमा उज्यालोको साहारा भए पछि चितुवाले गर्ने क्षति कम गर्न सकियोस भनेर वडा नम्बर ८ मा २० परिवारलाई र वडा नम्बर ९ मा पनी २० परिवारलाई सोलार वितरण गरेको नगरपालिकाले जनाएको छ । गत बिगतका घटनाहरु हेर्दा साँझ र बिहानीको झिसमिसेमा चितुवाले बढी आक्रमण गर्ने गरेकोले देखिएकोले सोलार वितरण पश्चात क्षति कम गर्न सहयोग पुग्ने डिभिजन वन कार्यालय बैतडीका डिभिजन प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो ।मेलौली नगरपालिकामा अहिलेसम्म चितुवाको आक्रमणबाट २२ जनाको ज्यान गईसकेको छ ।