बैतडीमा चौथो पटक निषेधाज्ञा थप, असार १५ सम्म जारी रहने

बैतडी–असार ०१/  बैतडीमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । केही खुकुलो गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले चौथो पटक निषेधाज्ञा थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार आदेश जारी गर्दै निषेधाज्ञा असार १५ गते सम्मका लागि थप गरिएको जनाएको हो ।

  कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । पहिलो चरणको निषेधाज्ञा बैशाख २० गते देखि जेठ २ गते सम्म, दोस्रो पटक जेठ २ गते देखि जेठ १७ सम्म , तेस्रोपटकको जेठ १७ देखि जेठ ३१ गते राती १२ बजे सम्म र चौथो पटकको निषेधाज्ञा असार १५ गते राती १२ बजे सम्मका लागि थप गरिएको हो । तेस्रो पटक लागु गरिएको निषेधाज्ञाको समय अवधि सोमबार राती १२ बजे सकिएको छ । हिजो राति देखि नै चौथौ पटकको निषेधाज्ञा लागु गरिएको हो ।

    अब निषेधाज्ञाको समयमा खाद्यान्न तथा तरकारीका पसल, कपडा पसल, निर्माण सामग्री पसल र फैन्सी पसल बिहान ७ बजेदेखि १२ बजे सम्म खोल्न सकिने, बैंक तथा बित्तीय संस्थाहरुले प्रत्येक दिन दिउँसो १ बजे सम्म सेवा दिन सकिने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन हुनेछन् ।

    स्थानीय तहहरूबाट बैंकको कामका लागि सदरमुकाम जानुु परेमा स्थानीय तहको सिफारिसमा यातायातको साधन प्रयोग गरी जान पाइने छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिनेछन् । गाउँ तथा नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम (विकास निर्माणका कामको भुक्तानी) गाउँ तथा नगरपालिकाले तोकेको समयमा सञ्चालन गर्न पाइने छ ।

यस्तै निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने भएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद लगायतका गतिविधि गर्न नपाइने र विवाह, ब्रतबन्धको हकमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर बढीमा १० जनाको सहभागितामा गनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

  विद्यालय, मालपोत, जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयबाट प्रवाह हुने सबै सार्वजनिक सेवा बन्द रहनेछन् । यस्तै निषेधाज्ञाको पालन गर्न गराउन पनि सबै अनुरोध गरिएको छ । कसैले आदेशको उल्लंघन गरे वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध पु¥याउने कार्य गरेमा प्रचलित कानून बमोजिम कार्वाही हुने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.