बैतडी सुर्नया ३ मा स्वास्थ्यकर्मी घरघरमै गएर कोरोना परीक्षण गर्दै
बैतडी जेठ २७ । बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा घरघरमै गएर कोरोना परीक्षण भइरहेको छ । स्वास्थ्यकर्मीहरुले घरघरमै गएर कोरोना परीक्षण गरि रहेका हुन् ।
एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका अन्य नागरिकहरुको घर घरमै गएर कोरोना परीक्षण गरिएको वडा नं ३ का अध्यक्ष दिलाराम भट्टले जानकारी दिनुभयो । कोरोना संक्रमित नागरिकहरुको सम्पर्कमा रहेका नागरिकको एन्टीजेन गर्दा २७ जनामा कोरोना पुष्टि भएको बताइएको छ।
मंगलबार र बुधबार वडाको बाँस टोलमा घरघरमै गएर एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको बाशुलिङ्ग स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुर्नया गाउँपालिका वडा नं ३ मा मात्रै २७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये १४ जना आइसोलसनमा बसेका छन भने बाँकी होम आइसोलेसनमै रहेका बताइएको छ ।कोरोना संक्रमण फैलिएपछि आफुहरुले एक टोलबाट अर्काे टोल जान समेत रोक लगाएका वडा अध्यक्ष भट्टले बताउनुभयो ।
वडाभित्र कोरोनाका संक्रमित बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबै वडाबासीमा आग्रह गरिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । कोरोना परीक्षणका लागि स्वास्थ्य कार्यालय बैतडीले आवश्यकताका आधारमा सबै पालिका र वडाहरुमा कीट उपलब्ध गराइरहेको छ ।स्वास्थ्य कार्यालयले कोरोना परीक्षण कीट उपलब्ध गराउदा संकास्पद नागरिकहरुको परीक्षणमा सहज भएको स्थानीय तहहरुले बताएका छन् ।