अब बैतडीमै कोरोना परीक्षण हुने
डी आर भट्ट,भदौ ३१/ असोज १ गतेबाट बैतडीमै कोरोना परीक्षण हुने भएको छ । पिसीआर मेसिन जडानको काम सम्पन्न भइसकेकोले १ गतेबाट कोरोना परीक्षण हुने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले जानकारी दिनुभएको छ ।
असोज १ गते पिसीआर प्रयोगशालाको उद्घाटन कार्यक्रम रहेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार पिसिआर मेसिनको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टबाट गर्ने कार्यक्रम रहेको छ । ल्याब उद्घाटन गर्न सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र पर्यटन मन्त्री माया भट्ट बुधबारनै बैतडी पुग्ने बताइएको छ। प्रदेश सरकारले बैतडी सहित सुदूरपश्चिमका तिन ठाउँमा पीसीआर ल्याब स्थापनाका लागि गत चैत १५ गते निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रदेश सरकारले गत साउन २१ गते मेसिन खरिद गरेर बैतडी पठाएको थियो ।
प्रदेश सरकारले खरिद गरेर पठाएको पिसिआर मेसिन एक महिना भन्दा बढी समय पछि जडान भएको हो । ढिलो गरि पिसीआर मेसिन जडान भएपनि अब बैतडी र दार्चुलाका नागरिकहरुको कोरोना परीक्षण गर्न सहज हुने भएको छ । पिसिआर मेसिन नुहँदा कोरोना परीक्षणका लागि स्वाब संकलन गरी बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता रहेकोमा अब जिल्लामै परीक्षण गर्न सजिलो हुने भएको हो ।
बैतडीमा जडान गरिएको पिसीआर मेसिनले दार्चुलाका नागरिकहरुको समेत कोरोना परीक्षण गर्न सहज हुने जिल्ला अस्पताल अध्यक्ष भट्टले बताउनुभयो ।