बैतडीमा पनि कोरोना विरुद्धको भेरोसेल खोप जेठ २८ देखि लगाइने
बैतडी जेठ २५ ।बैतडीमा पनि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा जेठ २८ गते देखि लगाइने भएको छ । जेठ २८ गतेदेखि बैतडीका ६२ देखि ६४वर्ष उमेर समूहका नागरिकहरुलाइ भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको निर्णय अनुसार बैतडीमा पनि यहि जेठ २८ गतेदेखि कोरोना विरुद्धको खोप लगाउने तयारि भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
खोप सेवा सबै स्थानीयतहका वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने बताइएको छ ।बैतडीका १० ओटै स्थानीयतहका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई खोप दिइने छ । जेठ २८ गते दशरथचन्द नगरपालिकामा दोगडाकेदार गाउँपालिकामा र डिलाशैनी गाउँपालिकामा खोप सेवा सञ्चालन हुने बताइएको छ ।
यस्तै मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३०गते, पाटन नगरपालिका पुर्चौडी नगरपालिका सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।