रेडक्रस बैतडीले दियो सञ्चारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री
गोर्कण बोहरा–बैतडी–जेठ २४/ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बैतडीले सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरुलाई बिभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको छ । नयाँ भेरियन्ट सहित देखिएको दोस्रो चरणको कोरोना भाईरस कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागी अग्रमोर्चामा खटिएर काम गरीररहेका जिल्ला स्थित बिभिन्न प्रहरी पोष्ट र सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्थानिय सञ्चार माध्यमलाई एन ९५ मास्क २० थान र सर्जिकल मास्क २ सय थान वितरण गरिएको नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रुपान्तरण कार्यक्रममा संयोजक कमल भट्टले जानकारी दिनुभएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय, देहीमाण्डौ प्रहरी चौकी र गुरुखोला प्रहरी चौकीलाई ५÷५ थानका दरले एन ९५ मास्क र ५०÷५० थानका दरले सर्जिकल मास्क वितरण गरिएको भट्टले बताउनुभयो । मगंलवार उक्त सामाग्रीहरु सम्बन्धित कार्यालयमै पुगेर हस्तान्तरण गरिएको हो ।