खोड्पे हेल्थ डेस्कः ४ दिनमा १ सय ८७ जनाको कोरोना परीक्षण
बैतडी जेठ २२ । काेराेना प्रभावित ठाउँबाट जिल्ला प्रवेश गर्नेहरूकाे बैतडीको खोड्पेमा कोरोना परीक्षण भइरहेकाे छ । तराइका जिल्लाबाट बैतडी प्रवेश गर्नेहरूकाे गत मंगलबार बाट कोरोना परीक्षण कार्य शुरु गरिएकोमा बिहीबार सम्म १ सय ८७ जनाको कोरोना परीक्षण भइसकेको छ ।
मंगलबार ४२ जना, बुधबार ८५ जना, बिहीबार ४० जना, शुक्रबार२० जनाको गरि १ सय ८७ जनाको कोरोना परीक्षण भइसकेको हेल्थ डेस्कमा कार्यरत ल्याब असिस्टेन्ट गणेश पाण्डेले जानकारी दिनुभयो । परीक्षण गरिएका एक सय ८७ मध्ये दुइ जनाको रिपोर्ट पोजिटिभ आएको उहाँले बताउनुभयो ।
मंगलबार ४२ जनाको कोरोना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएको र बुधबार ८५ को परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । खाेड्पेमा एन्टीजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ । जिल्ला भित्रिनेहरुको कोरोना परीक्षण गर्न खोड्पेमा हेल्थ डेस्क स्थापना गरिएको हो ।
कोरोना पोजिटिभ आएकालाई राख्न खोड्पेमै आइसोलेसनको पनि व्यवस्था गरिएको छ । बैतडीको सीमानाका झुलाघाट , जिल्ला अस्पताल बैतडी ,पाटनको खोड्पे र आवस्यकता अनुसार जिल्लाका १० ओटै स्थानीयतहरुमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणदर घटेको र निको हुनेको सङख्या बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो ।शुक्रबार पनि बैतडीका ८७ जनाले कोरोना जितेका थिए ।