शिवनाथमा डाक्टरसहितको कोभिड अस्पताल सञ्चालन
बैतडी- जेठ १२/बैतडीको शिवनाथ गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ । कोरोनाका बिरामीहरुलाई चेकजाँच र परामर्शका लागि सहज होस भनेर वडा नं ६ स्थित पालिकाकै भवनमा चिकित्सक सहितको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।
अस्थायी कोभिड अस्पतालमा चिकित्सक सहितको सेवा मंगलबारबाटै शुरु भइसकेको उहाँको भनाई छ । ५ शैय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएका जनाउदै उहाँँले अस्पतालमा डाक्टर पवित्रा राईलाई गाउँपालिकाले कोरोना अस्थायी अस्पतालका लागि नियुक्त गरेको बताउनुभयो ।डाक्टरसहितको अस्पताल सञ्चालन आएपछि कोभिडका बिरामीको उपचारमा सजिलो हुने अपेक्षा गरिएको छ ।
अस्थायी कोरोना अस्पतालमा चिकित्सक सहित १ जना स्टाफ नर्स पनि खटाइएकाले पालिकाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको अध्यक्ष साउदले बताउनुभयो । यस्तै कोभिड अस्थायी अस्पतालमा आवश्यक उपकरणहरुको पनि व्यवस्था गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । अहिले शिवनथा गाउँपालिकामा १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताउनुभयो ।