बैतडीमा एकै दिन ७५ जना कोरोना संक्रमण मुक्त, ४५ जना थपिए
बैतडी–जेठ ०६ / बैतडीमा एकै दिन ७५ जना कोरोना संक्रमण मुक्त भएका छन । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बिहिबार एकै दिन ७५ जनाले कोरोना तिजेर डिस्चार्ज भएका हुन् । केहि दिन यतादेखि संक्रमणमुक्त हुनेको संख्या पनी उकालो लाग्दै गएको हो ।
यस्तै बिहिबार थप ४५ जना संक्रमितहरु थपिएका छन । जिल्ला अस्पताल बैतडीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा सिगास गाउँपालिकाका २७ जना, सुर्नया गाउँपालिकाका १५ जना र दशरथचन्द नगरपालिकाका ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ६७ रहेको छ । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३ सय ८१ जना संक्रमितहरु रहेका छन ।
यस्तै सिगास गाउँपालिकामा १ सय ३२, पाटन नगरपालिकामा १ सय २७, सुर्नया गाउँपालिकामा ६२ र मेलौली नगरपालिकामा ५० जना रहेका छन । शिवनाथ गाउँपालिकामा १३ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना, डिलाशैनी गाउँपालिकामा १६ जना, दोगडाकेदार गाउँपालिकामा २२ र पुर्चौडी नगरपालिकामा २५ जना कोरोना सक्रिय संक्रमित रहेका छन । जम्मा सक्रिय संक्रमित मध्ये १ सय ५८ जना मात्र संस्थागत आईसोलशनमा र अन्य सबै होम आईसोलेशनमा रहेका छन ।