डेलिभरी र ईमर्जेन्सी सेवाका लागी ढुक्क भएर आउन जिल्ला अस्पतालको आग्रह
जनक साउद–बैतडी–जेठ ०६/ कोेरोनाको त्रासका कारण जिल्ला अस्पताल बैतडीमा अन्य रोगका बिरामीहरु उपचारका लागी नआउने गरेको पाईएको छ । अस्पतालमा अहिले कोभिडका बिरामीहरुको उपचार भईरहेकोले डेलिभरी सेवा तथा अन्य रोगका बिरामी उपचारका लागी कम मात्रामा आउने गरेका हुन् । पहिले डेलिभरीका लागी दैनिक २ देखि ४ जनासम्म आईरहने भए पनि अहिले कोभिड सर्छ की भन्ने डरले आउन छाडेको जिल्ला अस्पतालका प्रमुख डाक्टर बशन्त राज जोशीले बताउनुभयो ।
मातृ मृत्यु दर र बाल मृत्यु दर शुन्यमा झार्ने लक्ष्यका साथ नेपाल सरकारले शत प्रतिशत संस्थागत सुत्केरीको निति लिएको भए पनि अहिले संस्थागत डेलिभरीका लागी महिलाहरु नआउने गरेको जोशीको भनाई छ । “कोभिडका बिरामी राख्ने र आफुहरुलाई राख्ने ठाउँ एउटै हुन्छ कि भन्ने भ्रम धेरैमा छ । तर कोभिडका बिरामी राख्ने र डेलिभरी सेवा दिने कक्ष फरक छन् ।”उनले भने ।
यस्तै कोरोना बिरामीहरुको उपचार गर्ने र डेलिभरी गराउने स्वास्थ्यकर्मीहरु पनी छुट्टै भएको प्रमुख जोशीले बताउनुभयो । कोभिडका बिरामीको उपचारसंगै डेलीभरी सेवा र अन्य ईमर्जेन्सी सेवा पनी सुरक्षति तवरले सञ्चालनमै रहेकोले ढुक्क भएर उपचारका लागी आउन समेत अस्पतालले नागरिकहरुमा आग्रह गरेको छ ।