रेडक्रस बैतडीद्वारा वडा स्तरका आईसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री वितरण
बैतडी–जेठ ०२/ बैतडीको दशरथचन्द नगरपालिकाका बिभिन्न वडाहरुमा निर्माण गरिएका आईसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो । आईसोलेशनमा रहेका कोरोना संक्रमितहरुको लागि रेडक्रस बैतडीबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले स्वास्थ्य सामाग्री वितरण गरेको रेडक्रस बैतडीका कार्यक्रम अधिकृत तेज प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
वडामा रहेका संक्रमितको संख्या हेरेर २ सय ५० देखि ३ सय माक्स, सेनिटाइजर, पुल्स अक्सीमिटर, थर्ममिटर लगायत स्वास्थ्य सामग्री वितरण गरिएको उहाँको भनाई छ । स्वास्थ्य सामग्रीले आइसोलेसनमा रहेका संक्रमितहरुलाई सहज भएको दशरथचन्द नगरपालिका–९ का वडाध्यक्ष हरिशचन्द जोशीले जानकारी दिए ।
स्वास्थ्य सामग्री अभाव भइरहेको बेला सहयोग स्वरुप स्वास्थ्य सामग्री पाएपछि कोरोना संक्रमितहरुको हेरचाह र स्वास्थ्य अवस्था बुझ्न सहज भएको दशरथचन्द नगरपालिका–२ का वडा स्तरीय विपद व्यवस्थापन समितीको संयोजक एंव वडाध्यक्ष रनबहादु बोहराले बताए । नेपाल रेडक्रस सोसाइटीले नगरपालिकामा संक्रमितहरु बसेको आइसुलेसनमा आफै उपस्थित भएर स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै उनीहरुलाई मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरेको रेडक्रसका कार्यक्रम अधिकृत पाण्डेले बताउनुभयो ।