बैतडीमा १५ दिन लम्बियो निषेधाज्ञा
बैतडी–बैशाख ३१/ बैतडीमा जारी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा १५ दिन लम्ब्याउँदै जेठ १७ गतेसम्म लागु गर्ने निर्णय गरेको हो । वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जेठ २ गतेपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको उहाँले बताउनुभयो ।
वैशाख २० गतेदेखि जिल्लामा पहिलो चरणको निषेधाज्ञा जारी छ । पहिलो चरणको निषेधाज्ञा जेठ २ गते राति १२ बजे सकिँदै छ । कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दर समेत बढीरहेकाले जेठ १७ गते सम्म लागु हुनेगरि निषेधाज्ञा लम्बाउने निर्णय भएको हो । जिल्लामा कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले थप १५ दिने निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । उहाँँका अनुसार निषेधाज्ञाको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने र अनावश्यक हिडडुँल गर्न पनि पाईने छैन ।
अब खाद्यान्नका पसल पनि २ घण्टा मात्रै खोल्न पाइने भएको छ । यसअघि बिहान ७ देखि १० बजे सम्म खोल्ने पाइने खाद्यान्न तथा तरकारी पसल अब बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने भएको हो । यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न पाईने र विवाह,ब्रतबन्ध जस्ता कार्यहरु भिडभाड नहुनेगरि जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ । बैतडीमा दोस्रो लहरको कोरोना फैलिए यता ७ जनाको मृत्यु भइसकेको छ । भने ७ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।