बैतडीः पछिल्लो समयमा गिद्धहरु लोप हुँदै
जनक साउद,भदौ ३० / पछिल्लो समयमा बैतडी सहित सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा गिद्धहरु लोप हुँदै गएका छन् । बिभिन्न समस्याहरुले गर्दा पछिल्लो समय गिद्धहरु लोप हुदै गएको जानकारहरु बताउछन । कुनै समय बैतडी सहित अन्य जिल्लाका अग्ला पहाडहरुमा प्रशस्त देखिने गिद्धहरु अहिले लोप भएका हुन । बासस्थानको समस्या, विषादी प्रयोग , जलवायु परिवर्तन र आहारा अभावमा पछिल्लो समय गिद्धको संख्या ह्वात्तै घटेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख केशब पराजुलीले जानकारी दिनुभयो । गिद्धहरु खास गरी अग्लो रुखहरुमा बस्ने गरेको बताउदै उहाले सिमल लगायतका रुखहरु पछिल्लो समय मासिदै गएकोले गिद्धहरु लोप हुदै गएको हुनसक्ने बताउनुभयो ।
पहिले गाईबस्तुहरु मरेपछि खुला ठाउमा छोडिने गरेको भए पनि अहिले गाड्ने गरेकोले पनी गिद्धहरुको आहारामा कमी आएको छ । यस्तै गाईबस्तुहरु बिरामी हुदा खुवाईने डाइक्लोफेनिक नामक औषधी पनी यसको कारक तत्व भएको डिभिजन बन प्रमुख पराजुलीले जानकारी दिनुभयो । उक्त औषधी गाईबस्तुहरुका लागी औषधी भए पनि गिद्धहरुको लागी हानीकारक हुने उनको भनाई छ । डाइक्लोफेनिक औषधी खुवाईएका गाईबस्तुहरुको सिनो खाएमा गिद्धहरु मर्ने उहाले बताउनुभयो । नेपालमा देशब्यापी रुपमा गिद्धहरुको संरक्षणको लागी ५ बर्षे गिद्ध संरक्षण कार्ययोजना लागु गरिएको भए पछि प्रभाबकारी रुपमा कार्यान्वय नभएको पाईएको छ ।
बढ्दो वन विनाश र रासायनिक औषधि प्रयोगले गिद्धलगायतका पशुपंक्षीको अस्तित्व संकटमा परिरहेको हो । गिद्धहरुले आफैँ शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाने गर्दछन्। मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ। त्यसैले बाताबरणीय सन्तुलन कायम राख्न गिद्धहरुको भुमिका महत्वपुर्ण हुने बिज्ञहरुको भनाई छ।