बैतडीको खोड्पेमा हेल्थ डेस्क स्थापना हुने
बैतडी वैशाख ३०-
बैतडीको खोड्पेमा हेल्थ डेस्क स्थापना हुने भएको छ । तराइका जिल्ला कैलाली कञ्चनपुर तथा कोरोना प्रभावित ठाउँबाट जिल्ला प्रवेश गर्ने नागरिकहरुको कोरोना परीक्षणका लागि पाटन नगरपालिका वडा नं ८ स्थित खोड्पे बजारमा हेल्थ डेस्क स्थापना गर्न समन्वय भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि)का संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
आजभोलिनै हेल्थ डेस्क स्थापना गर्न कोराना परीक्षणका लागि एन्टीजेन किट अभाव रहेको र किटको व्यवस्था भएपछि खोड्पेमा हेल्थ डेस्क स्थापना गरिने उहाँले बताउनुभयो । एन्टीजेन किट उपलब्ध भइहाले खोड्पेमा हेल्थ डेस्क थापना हुने भन्दै प्रजिअ पाण्डेले कैलाली कञ्चनपुर लगायत कोरोना प्रभावित ठाउँबाट बैतडी आउने नागरिकरुको कोरोना परीक्षण गर्ने र कोरोना संक्रमण पुष्टि भएकालाई पाटन नगरपालिकामै आइसोलेसन निर्माण गरेर राखिने बताउनुभयो ।
हेल्थ डेस्क स्थापना गर्न स्वास्थ्य कार्यालय बैतडीले किटको लागि पहल गरिरहेको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । एन्टीजेन किटका लागि पहल भइरहेको र किटको सुनिश्चतता भइसकेपछि हेल्थ डेस्क स्थापना गर्ने योजना बनेको स्वास्थ्य प्रमुख योगश प्रशाद भट्टले जानकारी दिनुभयो ।
खोड्पेमा हेल्थ डेस्क नहुँदा अहिले खाद्यान्नका मालबाहक गाडि, अन्य विभिन्न कामका लागि पहाड भित्रिने यात्रुहरु कोरोना चेक जाँच बिनानै जिल्ला प्रवेश गरिरहेका छन् । यसबाट कोरोनाको संक्रमण झन बढ्ने खतरा देखिएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि खोड्पेमा हेल्थ डेस्क स्थापना गर्न गृह कार्य भइरहेको बताइएको छ । यसबाट संक्रमण नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ ।