डिसिसिएमसि बैतडीको भर्चुअल बैठक : प्रजिअ पाण्डेले गरे स्थानिय तहलाई यस्तो निर्देशन ?
जनक साउद–बैशाख २९/ बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले स्थानिय तहका पदाधिकारीहरुसंग भर्चुअल बैठक गरेका छन् । जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्र (डिसिसिएमसि) का संयोजक समेत रहेका प्रजिअ पाण्डेले नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा यसको रोकथाम तथा उपचारका बिषयमा छलफल गर्न भर्चुअल बैठक गरेका हुन् । बैठकमा स्थानिय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, पालिकाका स्वास्थ्य संयोजक र सञ्चारकर्मीहरु सहभागी थिए ।
स्थानिय तहका जनप्रतिनिधिहरुले कोभिडको रोकथाम तथा नियन्त्रणका लागी आफ्नो पालिकामा भईरहेका प्रयास, चुनौती तथा स्रोत साधनको अभाव लगायतका समस्याहरु प्रमुख जिल्ला अधिकारी पाण्डे समक्ष राखेका छन् । दोस्रो लहरको कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिदै गएकोले नियन्त्रणका लागी चुनौतीहरु थपिदै गएको उनीहरुले बताएका छन् । कोभिड अस्पताल सञ्चालन, क्वारेन्टीन तथा आईशोलेसन निर्माण लगायतका कार्यहरुमा आफुहरुले तदारुकताका साथ काम गरिरहेको बताउदै उनीहरुले स्रोत साधनको अभावमा भने कोभिडको नियन्त्रण गर्न समस्या भईरहेको जनाएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिकहरुको स्वास्थ्य सुरक्षाको बिषयमा गम्भीर भई काम गर्न स्थानिय तहहरुलाई निर्देशन दिएका छन् । कोभिड नियन्त्रणको सन्दर्भमा अहिलेसम्म स्थानिय तहहरुले गरेको कार्य प्रसंसनिय रहेको उल्लेख गर्दै उनले थप प्रभावकारी कदम चाल्न दिर्नेशन दिएका हुन् । आफुसंग भएका स्रोत साधनहरु तयारी अवस्थामा राख्न र सम्भाबित मानबिय क्षति कम गर्न पुर्ब तयारी गरिराख्न प्रजिअ पाण्डेले निर्देश गरेका छन् । यस्तै भारतबाट तथा कोरोना प्रभाबित अन्य ठाउँबाट आउने नागरिकहरुको ब्यबस्थापनमा बिशेष ध्यान दिन प्रजिअ पाण्डेले स्थानिय तहका पदाधिकारीहरुलाई सचेत गराएका छन् । बाहिरबाट आउने नागरिकहरुका कारण समुदायमा कोरोनाको बढी जोखिम रहने भएकोले उनीहरुलाई अनिबार्य क्वारेन्टीनमा राख्न भनेका छन् ।
यसै बिच निषेधाज्ञाको समयमा बजारमा कालोबजारी मौलाउदै गएको गुनासो आएको भन्दै बजार अनुगमनको बिषयमा पनी सचेत बन्न उनले आग्रह गरेका छन् । यो समयमा ब्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई ठग्न सक्ने भन्दै प्रजिअ पाण्डेले बजार निरिक्षणमा पनी ध्यान दिन निर्देशन दिनुभएको हो । यस्तै निषेधाज्ञाका कारण हातमुख जोर्न पनी समस्या भईरहेका नागरिकहरुको बिषयमा पनी निर्णय लिन उनले स्थानिय तहको ध्यानाकर्षण गराएका छन् । तत्काल बिकास निर्माण कार्यहरु सञ्चालनमा नै रहेकोले दैनिक ज्यालादारीमा काम गर्ने बर्गलाई अहिले चुलो बाल्न समस्या नभए पछि भोली त्यस्तो अबस्था आउन सक्ने प्रजिअ पाण्डेको भनाई छ ।