देहीमाण्डौ स्वास्थ्य चौकीमा तालिम प्राप्त अनमी छैन, डेलीभरी सेवा बन्द
सानु बोहरा–बैतडी–बैशाख २१/ बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ स्थित देहीमाण्डौ स्वास्थ्य चौकीको डेलीभरी सेवा बन्द रहेको छ । दक्ष प्रसुतीकर्मीको अभावमा सेवा बन्द रहेको हो । प्रसुती सेवाका लागी एसबिए तालिम प्राप्त अनमी नहुँदा ७ महिना यता प्रसुती सेवा प्रभातिब हुँदै आएको स्वास्थ्य चौकीले जनाएको छ । प्रसुती सेवा दिदै आएकी तालिम प्राप्त अनमी भदौ २२ गते सरुवा भएर गए पछि गत माघ महिनासम्म स्वास्थ्य चौकीमा कार्यरत अनमी हिरा बोहराले डेलीभरी सेवा प्रदान गरेकी थिईन ।
फागुन यता उनले पनी डेलीभरि सेवा प्रदान गर्न छाडे पछि गर्भवतीहरुको सामान्य चेकजाँच मात्रै हुने गरेको छ भने डेलीभरिका लागी जिल्ला अस्पताल बैतडी धाउनु पर्ने बाध्यता रहेको छ । गर्भवती महिलाहरुलाई कुनै समस्या भएर स्वास्थ्य चौकीमा खबर गरे पनि कर्मचारीहरुले हेर्न नमान्ने गरेको स्थानियको आरोप छ । दक्ष प्रसुतीकर्मी छैनन भनेर कर्मचारीहरु पन्छिने गरेको स्थानिय उद्धब बोहराले बताउनुभयो । “बुहारीलाई सुत्केरी ब्यथा लागेर स्वास्थ्य चौकीमा खबर गरे, स्वास्थ्य चौकीका कर्मचारी कसैले पनी आउन मानेनन् ।” उनले भने ।
यता वडाध्यक्ष रन बहादुर बोहराले भने नगरपालिकामा नै एसबिए तालिम प्राप्त अनमीको अभाव रहेको बताउनुभएको छ । अन्य स्वास्थ्य चौकीहरुमा पनी तालिम प्राप्त प्रसुतीकर्मी नभएकोले सेवा प्रभाबित भईरहेको उहाँको भनाई छ । नगरपालिकाका स्वास्थ्य संयोजक दुर्गादत्त जोशीले पनी एसबिए तालिम प्राप्त अनमी नभएकोले देहीमाण्डौबाट डेलिभरीका लागी जिल्ला रेफर गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।
देहीमाण्डौमा मात्र नभएर वडा नम्बर ७ को स्वास्थ्य चौकीमा पनी एसबिए तालिम प्राप्त अनमीको अभाव रहेको जोशीले जानकारी दिनुभयो । अब सञ्चालन हुने एसबिए तालिममा देहीमाण्डौ स्वास्थ्य चौकी र वडा नम्बर ७ को स्वास्थ्य चौकीले प्राथमिकता पाउने जोशीको भनाई छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका बिभिन्न संघ संस्थाहरुले अनमीहरुको लागी एसबिए तालिम सञ्चालन गर्दै आए पनि १ स्थानिय तहबाट २ जना मात्रै सहभागी हुन पाउने गरेकोले समस्या भईरहेको दशरथचन्द नगरपालिकाले जनाएको छ ।