बैतडीमा आजदेखि लकडाउन
बैतडी–बैशाख २० / बैतडीमा आजदेखि लकडाउन शुरु भएको छ । आइतबार बसेको जिल्ला कोरोना ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) को निर्णय अनुसार आजदेखि जेठ २ गते सम्मका लागी लकडाउन गरिएको हो । आज सोमबार बिहान ८ बजेदेखि जेठ २ गते राति १२ बजे सम्म लागु हुने गरि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहने बताइएको छ । खाद्यान्नका पसलहरु प्रत्येक दिन बिहान ७ बजे देखि बिहान १० बजे सम्म खुला रहन छन् । अत्यावश्यक बाहेकका सवारीसाधनहरु पूर्ण रुपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । सरकारी कार्यलयको हकमा पूर्ण रुपमा सेवा बन्द नगरि अत्यावश्यक सेवा मात्र दिइने बताइएको छ । यस्तै स्थानीयतहमा भइरहेका विकास निर्माणका कार्यहरु नरोकिने प्रजिअ पाण्डेले बताउनुभयो । यस्तै बिवाह ब्रतबन्धको सन्दर्भमा स्थानिय प्रहरी चौकीसंग समन्वय गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने बताईएको छ ।