बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या बढ्दो
जनक साउद–बैतडी–चैत्र १८/ बैतडीका विभिन्न ठाउँमा खानेपानीको चरम समस्या रहेको छ । प्रत्येक बर्ष सुख्खायाममा यहाँ खानेपानीको समस्या हुने गर्दछ । लामो समयदेखिको खडेरीका कारण भएका पानीका मुलहरु समेत सुक्दै गए पछि खानेपानीको समस्या उत्पन्न भएको हो । जिल्लाको पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका लगायत जिल्लाका सबै जसो स्थानिय तहहरुका बिभिन्न गाउँबस्तीमा खानेपानीको समस्या रहेको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौमा पानीको समस्या बिकराल बन्दै गएको छ ।
दशकौ अगाडी निर्माण भएको ग्वाल्लेक–देहीमाण्डौ खानैपानी योजनाले देहीमाण्डौ बासीको प्यास मेट्न सकेको छैन । बजार क्षेत्रमा निर्माण गरिएका धाराहरुमा बिहान १ घण्टा जति मात्रै पानी आउने गरेको छ । अन्य प्रयोजनको लागी त परै जावोस खानको लागी मात्रै पनी पानीको जोहो गर्न पनी मुस्किल हुने गरेको बजारबासीको गुनासो छ । यस्तै यहाँका होटल ब्यबसायीहरु भ्mनै समस्यामा परेका छन ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ ठाँडमा पनी पानीको चरम समस्या देखिएको छ । पानी अभावमा उक्त ठाँउका स्थानिय तथा ब्यापारीहरुले समस्या झेल्नु परेको रेडियो बैतडीका सम्बाददाता पुर्णदेब भट्टले जानकारी दिनुभएको छ । पुरानो खानेपानी योजना जीर्ण बनेको र उपभोक्ताको संख्या बढी भएको उहाँको भनाई छ । पानीको अभावमा ठाँडमा रहेको भुमेश्वर माबिमा अध्ययनरत बिद्यार्थीहरुलाई झन समस्या रहेको छ ।
यस्तै दोगडाकेदार गाउँपालिका १ रिमका पनी बिभिन्न गाउँमा खानेपानीको समस्या रहेको स्थानियहरुले बताएका छन । भएका मुलहरु पनी सुकेको र बर्षा पहिले निर्माण भएका योजनाहरु जिर्ण भए पछि खानेपानीको हाहाकार मच्चिएको स्थानिय संकर जोशीले बताएका छन । बिहान सबेरै उठेर पनी पानी पाउन मुस्किल हुने गरेको उनको भनाई छ । पछिल्लो समय वनजङगल विनाश र खडेरीका कारण खानेपानीका मूलहरु सुक्दै गए पछि खानेपानीको अभाव बढ्दै गएको जानकारहरुको बुझाई छ । बैतडीमा बर्षैपिच्छे करौडौका खानेपानी योजनाहरु निर्माण हुने गरे पनि समस्या भने जिउकातिउ रहेको नागरिकहरुको गुनासो छ ।