बैतडी : तोलीका महिलाहरुद्वारा खानेपानीको माग गर्दै प्रशासन र नगरपालिकामा निवेदन
बैतडी–फागुन २८ / बैतडीको एक दलित बस्तिका महिलाहरुले खानेपानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा निवेदन दिएका छन् । लामो समय देखि आफुहरुको खानेपानीको समस्या स्थानिय सरकारले नबुझेको भन्दै दशरथचन्द नगरपालिका ४ तोली बस्तिका महिलाहरुले प्रशासन र नगपालिकामा निवेद दिएका हुन् । वडा नं ४ को कार्यालय नजिकै रहेको तोली बस्तिका दलित महिलाहरुले आफुहरुले बृहत खानेपानी योजनाका लागि ५ ÷५ हजारको रसिद काटेका भएपनि अहिले सम्म पानी नमिलेको भन्दै माग सम्बोधन गराईदिन र गर भन्दै जिल्ला प्रशासन र नगरपालिकामा निवेदन दिएका महिला अधिकारकर्मी सरस्वती नेपालीले जानकारी दिनुभयो । कि पैसा पिर्ता चाहियो कि पानी भन्दै महिलाहरुले जोडदार माग राखेको उनको भनाई छ ।
पानी अभावमा आफुहरुले अहिले घण्टौ हिँडेर सुतेगाडबाट पानीको जोहो गर्नु परिरहेको तोली बस्तीकी दलित महिला कुन्ती ओडले बताउनुभयो । आफहुरुका माग पुरा नभए घरबाट सरसामान सहित गाई, गोरु र बाख्रा समेत लिएर नगरपालिकामा धर्ना दिने चेतावनी दिएका छन । २६ घरपरिवारको बसोबास रहेको उक्त तोली बस्तीमा महिलाहरुलाई पानीको जोहो गर्न निकै समस्या भएको महिला अधिकारकर्मी नेपालीले बताउनुभयो । गाठलापनी र साहिलेकमा बृहत खानेपानी योजनाबाट घरघरमा धारा छन तर तोलीका नागरिकहरुले पानी अभावले पीडामा बाँच्नुपरेको भन्दै उहाँले यसमा सम्बन्धीत निकायको ध्यान जानुपर्ने बताउनुभयो ।
पानीका लागि सहकारी संस्थाबाट ऋण निकाली पैसा दिएर समेत पानी नपाउनु यो ठुलो अन्याय भएको महिला अधिकारकर्मी सरस्वती नेपालीको भनाई छ । यता दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्र सिँह थापाले महिलाहरुले दिएको निवेदन बुझ्दै बृहत खानेपानीका लागि दिएको पैसा फिर्ता गराउन लगाउने र तोली बस्तीमा खानेपानीको लागि समेत पहल गर्ने बताउनुभएको छ ।