बैतडीको पाटनमा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन
बैतडी–माघ १४ / बैतडीको पाटन नगरपालिकामा सिकाई निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन गरिएको छ । युनिसेफको आर्थिक सहयोग तथा शिक्षा तथा मानव स्रोत बिकास केन्द्र ,नेपाल शिक्षा समुह, सामुदायिक विद्यालय ब्यबस्थापन महासंघ नेपाल र नेपाल शिक्षक महासंघको समन्वयमा सिकाई निरन्तरता अभियानलाई प्रभावकारी रुपले संचालन गर्न शिक्षा प्रतिकार्य योजना निर्माण गर्नका लागि समिती गठन गरिएको हो ।
नगरपालिकाका प्रमुख केशब बहादुर चन्दको अध्यक्षता , सामुदायिक विद्यालय ब्यबस्थापन महासंघ नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रेम सिह भाटको सहजीकरण र सामुदायिक विद्यालय ब्यबस्थापन महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष हर्क बहादुर धानुकको उपस्थितिमा समिती गठन गरिएको हो । पाटन नगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, विद्यालय ब्यबस्थापन समिती अध्यक्ष र शिक्षा समितिका पदाधिकारीहरुको भेलाले शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन गरेको नगरपालिकाका शिक्षा संयोजक बिर्खराज भट्टले जानकारी दिनु भएको छ ।
पाटन नगरपालिका ९ मा रहेको ज्ञानेश्वर माबिका प्रधानाध्यापक तर्क राज भट्टको संयोजकत्वमा शिक्षासंग सरोकार राख्ने १० ओटै वडाका सरोकारवालाहरु सहितको ११ सदस्यीय समिति गठन गरिएको छ । शिक्षा समिती, विद्यालय ब्यबस्थापन समिती, प्रधानाध्यापक र शिक्षा शाखाको प्रतिनिधित्व गरि समिती गठन गरिएको हो । गठित समितिले सिकाई निरन्तरता अभियानलाई प्रभाबकारी रुपले संचालन गर्न प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण गर्ने छ । सामुदायिक विद्यालयहरुको समग्र शैक्षिक गुणस्तर उकास्न र कोभिड १९ का कारण प्रभावित पठनपाठनलाई लयमा ल्याउन सिकाई निरन्तरता अभियान संचालन भईरहेको हो ।
अनलाईन शिक्षा , टेलिभिजन शिक्षा , रेडियो शिक्षा , टोल समुदायमा आधारित शिक्षण र स्वअध्ययन सामाग्री लगायतका विधि अबलम्बन गरि बैकल्पिक शिक्षालाई निरंतरता दिन कार्यक्रम संचालन भईरहेको हो । उक्त कार्यक्रम देशका विभिन्न ४ ओटा प्रदेशहरुका २० स्थानिय तहमा संचालन भईरहेकोमा बैतडीमा पनि डिलाशैनि गाउँपालिका र पाटन नगरपालिका छ्नौट भएका छ्न । बैतडीका २ ओटै पालिकामा सिकाई निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन भईसकेको र अन्य स्थानिय तहमा छिट्टै समिति गठन गरिने बताईएको छ ।