बैतडीको एक विद्यालयले विद्यार्थीबाट असुल्यो नियम बिपरित शुल्क
विद्यालय स्रोत भन्छ : पैसा लिएकै हो, अब फिर्ता गर्छौ
बैतडी–माघ ०९/ बैतडीको एक विद्यालयले विद्यार्थीहरुबाट अनावश्यक शुल्क असुलेको पाईएको छ । जिल्लाको मेलौली नगरपालिका २ मा रहेको धर्मघर माबि सलेनाले विद्यार्थीहरुबाट अनावश्यक पैसा असुलेको पाईएको हो । कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुले विद्यालयले आफुहरुबाट अनावश्यक पैसा असुलेको बताएका छन । धर्मघर माबि सलेनाबाट नियमित तर्फका ४४ जना र ईक्जाम्टेडका ११ जना परीक्षार्थीहरु परीक्षामा सहभागी भएका थिए ।
नियमित तर्फका विद्यार्थीहरुबाट प्रति विद्यार्थी ५ सयका दरले २२ हजार र ईक्जाम्टेड तर्फका विद्यार्थीहरुबाट ८ सयका दरले ८ हजार ८ सय असुलेको पाईएको हो । शिक्षकहरुले बाहिर गएर परीक्षा दिएको भए बढी खर्च हुन्थ्यो यो बर्ष विद्यालयमा नै परीक्षा हुने भयो, तपाईहरुलाई फाईदा नै हुन्छ भन्दै पैसा असुलेको बताईएको छ । रजिष्ट्रेशन फर्म र अन्य शुल्क आफुहरुले पहिले नै दिएको भए पनि अहिले विद्यालयले अनाबश्य पैसा असुलेको कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थी करन चन्दले बताउनुभयो । पैसा नदिएसम्म परीक्षामा सहभागी हुन प्रबेश पत्र नै नदिने भने पछि आफुहरुले बाध्य भएर पैसा दिएको उनको भनाई छ ।
प्रत्येक विद्यार्थीहरुबाट पैसा असुले पनी विद्यालयले आफुहरुलाई पैसा तिरेको रसिद पनी नदिएको विद्यार्थीहरुले बताएका छन । यता विद्यालयले भने विद्यालयको आय स्रोत न्युन भएकोले सहयोग मागेको जनाएको छ । नियम बिपरित पैसा असुलेको कुरा पनी विद्यालयले स्वीकार गरेको छ । रेडियो बैतडीसगं कुरा गर्दै विद्यालयका लेखापाल लक्ष्मण जोशीले परीक्षाको ब्यस्थापन खर्च भन्दै आफुहरुले परीक्षार्थीहरुबाट पैसा असुलेको कुरा स्वीकार गर्नु भएको हो । “शिक्षकहरुको खाना खर्च, ढुवानी खर्च लगायत स्टेशनरी खर्च भन्दै पैसा उठाएका हौ ।” उनले भने ।
त्यो त नियम बिपरित भएन र ? परीक्षा खर्च त राष्ट्रिय परीक्षा बोर्डले देलानी ? भन्ने हाम्रो प्रश्नमा लेखापाल जोशीले, हो नियम विपरित नै भयो अब पैसा फिर्ता गरिदिन्छौ भनेका छन । “परीक्षाको बेला राष्ट्रिय परीक्षा बोर्डले पैसा पठाएको थिएन अहिले खातामा हालेको छ उनले भने ” । पैसा असुलेर विद्यार्थीहरुलाई रसिद नदिएको कुरा समेत लेखापाल जोशीले स्वीकार गरेका छन । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको बैठक बसेर निर्णय गरी नियत बिपरित विद्यार्थीहरुबाट असुलेको पैसा विद्यार्थीहरुलाई फिर्ता गरिदिने उनको भनाई छ ।
यता शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रशाद आवस्थीले भने यस्ता गतिविधि नियमन गर्ने अधिकार स्थानिय सरकारलाई भएको बताएका छन । आफु कहाँ नियमविपरित शुल्क अशुलेको रिपोर्ट नआएको र आएपछि छानविन गरि कार्वाहीको प्रकिृया थालिने बताउनुभयो । यसरी विद्यार्थीबाट शुल्क लिन नपाईने उहाँको भनाई छ ।