स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि हातपात भएपछि…
बैतडीमा समुदायमा कोरोना परिक्षणका लागि स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मी माथि हातपात गरिएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुंगाडमा स्वाब संकलनका लागि जादै गरेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरा माथि हातपात गरिएको हो ।
सोमबार भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेका बेला आफूले सामाजिक दुरी कायम गरेर बस्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले बताएका छन् । विद्यालयमा बैठक चलिरहेको बेला ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेको उनले बताए ।
स्वाब संकलन गर्ने हिडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताए ।आफुहरुले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका बेला स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि नै हातपात हुन थालेपछि समस्या बढेको इन्चार्ज साउँदले बताए ।
स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ। स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताए।