बैतडीका थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको सङ्ख्या ५ सय ७७ पुग्यो
मंसिर -२१ / बैतडीका थप ६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
आइतबार दशरथचन्द नगरपालिकाका ५ जना र सुर्नया गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ ।
दशरथचन्द नगरपालिका वडा नं ३ का ३० वर्षिय पुरुष , वडा नं ४ का ३३ र ४१ वर्षिय २ पुरुष , नेपाली सेनाका १ पुरुष , दशरथचन्द नगरपालिका वडा नं १ का २९ वर्षिय १ पुरुष गरि जम्मा ६ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।
आइतबार थप ६ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कुल कोरोना संक्रमितको सङख्या ५ सय ७७ पुगेको छ। यस्तै बैतडीमा थप १ जना डिस्चार्ज भएका छन । जिल्ला अस्पताल बैतडीमा कार्यरत २७ वर्षिया महिलाले कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अब बैतडीमा ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।
दशरथचन्द नगरपालिकामा ४६ , पुर्चौडीमा २ , डिलाशैनि गाउँपालिकामा १७ , सुर्नयामा १ जना र दोगडाकेदार गाउँपालिकामा १ जना कोरोना सक्रिय संक्रमित रहेका छन । कोरोनाका सक्रिय संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। जिल्लामा अहिले सम्म ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ सय ५ जना कोरोना मुक्त भइसकेका छन भने १ जनाकाे मृत्यु भएको छ ।