बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पूर्वकर्म सेवा
मंसिर -१४/ बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पूर्वकर्म सेवा शुरु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ मा रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा अब पूर्वकर्म आयुर्वेद चिकित्सा पद्धति बाट सेवा पाइने भएको छ ।
प्रदेश सरकार र पाटन नगरपालिकाको संयुक्त प्रयासमा प्राथमिक स्वास्थ्यकेन्द्रमा आयुर्वेदिक चिकित्सा पद्दति अन्तर्गतका सेवाको आइतबार एक कार्यक्रमकाबीच नगरप्रमुख केशवबहादुर चन्दले उद्दघाटन गर्नुभएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारि दिनुभएको छ ।
तत्कालका लागि पूर्वकर्म सेवा अन्तर्गत स्नेहन र स्वदेन सेवा शुरु गरिएको आयुर्वेद चिकित्सक डा. पुजा लेखकले बताए। स्नेहन अन्तर्गत औषधियुक्त तेलबाट मसाज गरिने र स्वेदेन अन्तर्गत औषधिको बाफबाट मानिसको शरीरलाई सेक्ने गरिन्छ । यसबाट मानिसको शरीरमा रहेका विभिन्न विकारहरु बाहिर आउने मानिसलाई स्वस्थ रहन सहज हुने बताइएको छ । यस्तै पञ्चकर्मका पनि केही सेवा सुचारु हुने हेल्थ असिष्टेन्ट भट्टले जानकारी दिनुभयो ।
पञ्चकर्म अन्तर्गत नाश्च्य, जानुवस्ती,कटीबस्ती, ग्रीहावाबस्ती र शिरोधारा सेवा सञ्चालन गरिनेछ । यो अन्तर्गत नाश्च्यमा नाकमा तेल राखेर टाउको दुखेको लगायतका उपचार गरिन्छ भने जानुवस्तीमा घुँडा दुखेको उपचार गरिन्छ ।
यस्तै कटीबस्तीमा ढाडको उपचार र ग्रीहावावस्तीमा घाँटीको उपचार गरिन्छ । शिरोधारा अन्तर्गत औषधियुक्त तेल टाउकोमा राखेर मसाज गरिने कविराज चौधरीले बताउनुभयो । पाटनमा पूर्वकर्म सेवा शुरु भएसंगै बैतडीका चार ठाउँमा आयुर्वेदिक चिकित्सा पद्दति सेवा सञ्चालन भएको छ ।