बैतडीको दोगडाकेदार गाउँपालिकामा आजबाट बिद्यालयहरु सञ्चालनमा
जनक साउद–मंसिर ०८/ बैतडीको दोगडाकेदार गाउँपालिकामा आजबाट बिद्यालयहरु सञ्चालनमा आएका छन । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका बिद्यालयहरु आजबाट सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा स्थानिय तहहरुलाई दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड(१९ को जोखिम नभएका र कम हुँदै जाने पालिकाका विद्यालयमा आलोपालो सिफ्ट वा अरु उपयुक्त विधि अपनाइ पठनपाठन सञ्चालनको बाटो खुलाए बमोजिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको दोगडाकेदार गाउँपालिकाका शिक्षा संयोजक सुरेश भट्टले जानकारी दिनुभएको छ ।
दोगडाकेदार गाउँ शिक्षा समिति र माध्यमिक तहका प्रधानाध्यापकहरुको मंंसिर ५ गते बसेको बैठकले कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायहरु अबलम्बन गरेर कक्षा १ देखि १० सम्म पढाई हुने बिद्यालयहरुमा आज सोमबारबाट बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्तै १ देखि १२ सम्म पढाई हुने बिद्यालयहरुमा कक्षा १२ को परीक्षा सञ्चालनमा हुने भएकोले १८ गतेबाट बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको छ । नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी बिद्यालयहरु सञ्चालन भईरहेको शिक्षा संयोजक भट्टले बताउनुभयो ।
बिद्यालय सञ्चालन पश्चात संक्रमण देखिएर जोखिम बढ्ने सम्भावना देखिएको अबस्थामा बिद्यालय ब्यबस्थापन समितिले नै निर्णय गरी बिशेष अबस्थामा बिद्यालय बन्द गर्न सक्ने निर्णय भएको समेत उहाँले बताउनुभयो । अहिले बिद्यालयहरु एकै सिप्टमा सञ्चालन भईरहेको र बिद्यार्थीहरुको संख्याको आधारमा बिद्यालय आफैले सिप्ट निर्धारण गर्न सक्ने पनी गाउँपालिकाले जानकारी दिएको छ । दोगडाकेदार गाउँपालिका भित्र अहिले ५९ ओटा सामुदायीक र ३ ओटा संस्थागत बिद्यालयहरु रहेका छन ।