कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन : रक्षामन्त्री पाेखरेल
काठमाण्डौ – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताउनुभएको हो ।
उपत्यकाका प्रतिनिधि सभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताउनुभयो । उहाँले निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्ने र आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्ने बताउनुभयो ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवत जावतले उपत्यका सङ्क्रमणको हब बनेको बताउनुभयो । उहाँले सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेशन निर्माण गर्दै निजी अस्पताल र शिक्षण अस्पतालहरुसँग सम्झौता गरेर अगाडि बढिरहेको जानकारी दिनुभयो ।
उपत्यकाका सांसदहरुको संयोजन गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुग्नुभएका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेशनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँँले पालिकामार्फत सर्वसाधारणको कोरोना बीमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद शशी श्रेष्ठले रोगले भन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । संसदीय समितिबाट कारागारभित्र रहेका कैदीहरुको व्यवस्थापनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले केही नगरेको उहाँले गुनासो गर्नुभएको छ ।
महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समीक्षा गर्दै उपत्यकाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।