बैतडी : किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो
जनक साउद–मंसिर १/ पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा उत्पादन हुने तरकारीले राम्रो बजार पाउन थालेको किसानहरुले बताएका छन । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका किसान सुरेश सिह भाटले पहिलेको तुलनामा अहिले तरकारीको बजार राम्रो भएको बताउनुभयो । अहिले भारतबाट आउने तरकारी आउने छाडेकोले आफुहरुले उत्पादन गर्ने तरकारी खपत गर्न सहज भएको उहाँको भनाई छ ।
उनले झण्डै ७ रोपनी जमिनमा बिभिन्न प्रकारका तरकारीहरु उत्पादन गर्ने गरेका छन । तरकारी खेतीबाटै बार्षिक ५ लाख आम्दानी हुने गरेको भाटको भनाई छ । तरकारीको बजार भाउ पनी अहिले बृद्धि भएकोले तरकारी खेती गर्ने किसानहरुलाई राहत भएको सोही ठाउँका अर्का किसान तारा सिह भाटले बताउनुभयो । गत बिगतको तुलनामा अहिले प्रत्येक तरकारी उपजमा १० देखि १५ रुपैंयासम्म बृद्धि भएको उनको भनाई छ । अहिले बन्दा प्रतिकेजी ५० रुपैया, काउली ६० रुपैया र मुला प्रतिकेजी २५ रुपैयामा बिक्रि गर्ने गरेको उहाँले जानकारी दिनुभयो । आफुहरुले उत्पादन गरेको तरकारी जिल्लाका बिभिन्न बजारहरुमा खपत गर्ने गरेको उनीहरुको भनाई छ ।
गत बिगतका बर्षहरुमा तरकारी खेती गर्दै आएका किसानहरुको उत्पादन राम्रै भए पनि बजार नपाउदा समस्या हुने गरेकोमा अहिले उत्पादनले बजार पाउन थालेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ । किसानहरुले उत्पादन गरेको गोलभेडा, आलु, रायो, काउली र बन्दा लगायतका तरकारीहरुले बजार पाउन थालेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्ण बहादुर चन्दले जानकारी दिनुभएको छ ।
अहिले तरकारी खेती गर्ने किसानहरुलाई स्थानिय सरकारहरुले पनी बिभिन्न प्राबिधिक सहयोग सगंै बिउ बिजन बितरण र अन्य सहयोगले गर्दा तरकारी खेती तर्फ किसानहरुको आर्कषर्ण बढ्दै गएको छ । बेमौसमी तरकारी खेतीबाट किसानहरुले अहिले मनग्गे आम्दानी समेत गर्न थालेका छन । जिल्लामा ५ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ ।