बैतडीको पाटन बजार अनुगमन
गोकर्ण बोहरा–कार्तिक २६/ बैतडीमा सरोकारवालाहरुको संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।अनुगमनकै क्रममा टोलीले बुधबार पाटन बजार अनुगमन गरेको छ । पाटन नगरपालिका वडा नम्बर ६ को पाटन बजारका बिभिन्न किराना पसल, मदिरा पसल तथा होटेलहरुमा गरिएको अनुगमनमा २५ हजार बराबरका लेबल नभएका र म्याद नाघेका सामानहरु बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जनाकारि दिनुभएको छ ।
अनुगमनका क्रममा १ हजार बराबरको हल्का पेय २१ बोतल, २१ हजार बराबरको बियर ७५ बोतल, ३ सय बराबरको बिस्कुट ६ प्याकेट, १ सय २५ बराबरको खुर्सानी पाउडर ५ प्याकेट र १ हजार बराबरको हेन्ड वास ४ ओटा बरामद गरि नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री बितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उदेश्यले अनुगमन गरिएको हो । चाडपर्बको समयमा अखाद्य बस्तुहरुको बिक्री बितरण हुन सक्ने भन्दै बजार अनुगमन चलीरहेको हो ।
व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेभल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ । जिल्लाको संयुक्त अनुगमन टोलिले यसअघि पनि जिल्लाको सुर्नया , डिलाशैनि, दोगडाकेदार, मैलौलि र पुर्चौडी नगरपालिकमा बजार अनुगमन गरिएको थियो । जनप्रतिनिधि, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग बिकास समिति, ईलाका प्रहरी कार्यालय पाटन, जिल्ला प्रशासन कार्यालय बैतडी र पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको हो ।