बैतडीको सिगासमा जनप्रतिनिधि आवास गृह सहित ११ नयाँ भवन
जनक साउद–कार्तिक २६/ बैतडीको सिगास गाउँपालिकाले बिभिन्न ११ वटा नयाँ भवनहरुको निर्माण सम्पन्न गरेको छ । राज्य पुर्नसंरचनामा गएर स्थानिय सरकार गठन भए पछि गाउँपालिकाले अहिलेसम्म ११ ओटा नयाँ भवन निर्माण गरेको गाउँपालिकाका प्रबक्ता राम बहादुर धामीले जानकारी दिनुभयो । बिभिन्न वडाहरुको गरी ६ ओटा वडा भवन, एउटा प्रहरी चौकी भवन , एउटा जनप्रतिनिधि आवास भवन, २ ओटा कर्मचारी आवास भवन र एउटा गाउँपालिका भवन गरी ११ ओटा भवनहरु निर्माण गरिएको उहाँले बताउनुभयो ।गाउँपालिकाको वडा नम्बर १, ३ , ४, ५ , ७ र वडा नम्बर ९ को नयाँ भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष हरी सिह धामीले जानकारी दिनुभएको छ ।
गाउँपालिकाको गर्जेमा गाउँपालिकाले झण्डै १ करोड ५० लाखको लागतमा गाउँपालिकाले सुबिधा सम्पन्न भवन निर्माण गरेको हो । यस्तै १०÷१० लाखको लागनीमा वडा कार्यालयका भवनहरु निर्माण सम्पन्न भएका हुन ।जनप्रतिनिधि आवास गृह निर्माणमा ३२ लाख खर्च भएको छ । यस्तै १ करोड २५ लाखको लगानीमा दुई ओटा कर्मचारी भवन र झण्डै ३३ लाखको लगानीमा प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाका अन्य स्थानिय तहहरुले भाडाका घरबाट सेवा दिईरहेकोमा सिगास गाउँपालिकाले भने आफ्नै भवन निर्माण गरी सेवा प्रबाह गर्दा सहज भएको जनाएको छ । सुबिधा सम्पन्न भवनहरु निर्माण पश्चात प्रयोगमा आए पछि भाडाँ बाफतको तिर्नु पर्ने बार्षिक लाखौ खर्च जोगिएको गाउँपालिकाका अध्यक्ष धामीले बताउनुभयो ।