बैतडीः पाटन बजारका सौर्य बत्ती र सिसिटिभी क्यामेरा मर्मत
जनक साउद–कार्तिक २२ / बैतडीको पाटन नगरपालिकाले पाटन बजारमा जडान गरिएका सौर्य बत्ती र सिसिटिभी क्यामेरा मर्मत गरेको छ । नगर परिसर भित्र सडक छेउछाउमा जडान गरिएका सौर्य बत्ती र सिसिटिभी क्यामेरा बिग्रिएकोमा नगरपालिकाले मर्मत गरेको हो । लामो समयदेखि बिग्रिएका सौर्य बत्ती र सिसिटिभी क्यामेरा मर्मत गरिएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभएको छ ।
बजार परिसरमा उज्यालोका लागि जडान गरिएका करिब ४६ ओटा सौर्य बत्ती मध्ये ३६ ओटा बिग्रिएर उज्यालो नै नबल्ने अबस्थामा रहेकोमा मर्मत गरिएको हो । यस अगाडी कार्तिक १९ गते रेडियो बैतडीले पाटन बजारमा जडान गरिएका सौर्य बत्ती र सिसिटिभी क्यामेरा मर्मतमा सम्बन्धित निकायले ध्यान दिएन भन्ने समाचार प्रसारण गरेको थियो ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको १० लाख अनुदान, पाटन नगरपलिकाको २ लाख र स्थानिय नागरिकको १ लाख ५० हजार सहयोग गरि जम्मा १३ लाख ५० हजारमा २०७१ सालमा जडान गरिएका सौर्य बत्तीहरु लामो समयदेखि बिग्रिएका थिए । उज्यालोका लागि सौर्यबत्ती र अपराधिक क्रियाकलाप न्युनिकरण गर्न सिसिटिभी क्यामेरा जडान गरिएका थिए ।