दार्चुलामा डेढ करोड बढिको यार्चागुम्बा बरामद
दार्चुला–कार्तिक ३/डेढ करोड बढिको अवैध यार्चागुम्बा बरामद भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको अवैध जडिबुटी यार्चागुम्बा बरामद गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी बरामद गरिएको हो । यार्चागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्चागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम बिष्टले जानकारी दिए ।
बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको उनले जानकारी दिए।