बैतडीः जिल्ला प्रशासनद्धारा ९ बुदें आदेश जारी, हेर्नुहोस के के छन ?
जनक साउद–कार्तिक ३/ चाडपर्बको समयमा थप सुरक्षा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ । कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले थप सुरक्षा सर्तकता अपनाउन सोमबार जिल्ला प्रशासन कार्यालयले बिभिन्न ९ बुदें आदेश जारी गरेको हो । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दशैको समयमा जिल्लाका बिभिन्न शक्तिपिठहरुमा नित्य पुजा बाहेक मानिस भेला हुने, भिडभाड हुने गरी पुजा अर्चना, भजन, उत्सब र बली दिने, जात्रा मनाउने लगायतका कार्यहरु नगर्न÷नगराउन आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले जानकारी दिनुभएको छ । जिल्लाबाट छोटो, मध्यम तथा लामो दुरीका सार्बजनिक तथा निजि सवारी साधनहरु सञ्चालन गर्दा तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । यात्रु बोक्दा चालक, चालक दलका अन्य सदस्यहरु र यात्रुहरुले भाईजर, पञ्जा, मास्क अनिबार्य प्रयोग गर्न आग्रह गरिएको छ । यात्रामा स्वास्थ्य मापदण्डहरु प्रयोग नगरेमा कानुन अनुसार कार्बाही हुने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै सबै सार्बजनिक सवारी साधनहरुले चैत्र ११ गते भन्दा अघि कायम भएको नियमित भाडा बाहेक कुनै थप भाडा लिन नपाईने जनाईएको छ । कुनै राजनैतिक दल, संघसंस्था, क्लब, समुह वा सञ्जालहरुले भेला जम्मा भई दशै तिहारको शुभकामना आदान–प्रदान गर्न कुनै कार्यक्रम आयोजना नगर्न भनिएको छ । जिल्लामा सञ्चालित सरकारी तथा सार्बजनिक कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी आ–आफ्नो कार्यालय प्रकृति अनुसार साबिक भन्दा थप ब्यबस्थित हुने गरी प्रबन्ध मिलाउन कार्यालय प्रमुखहरुको लागी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । कुनै पनी ठाउँमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, शसस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका शसस्त्र प्रहरी निरिक्षक, स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि र पत्रकार महासघंका प्रतिनिधि रहने गरी जिल्ला स्तरीय संयुक्त अनुमगन टोलीले अनुगमन तथा निगरानी गर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।