बैतडीको पाटन बिमानस्थलमा नियमित हवाई सेवा सुरु
बैतडी–असोज ३०/ बैतडीको पाटन बिमानस्थलमा शुक्रबारदेखि हवाई सेवा सुरु भएको छ । २५ बर्षपछि शुक्रबारबाट धनगढीलाई बेस बनाएर हवाई उडान सुरु भएको हो । आज पहिलो दिन धनगढीबाट १८ जना यात्रु लिएर बैतडी आएको बिमान ७ जना यात्रु लिएर धनगढी फर्किएको छ । बैतडीको पाटन नगरपालिकाका प्रबक्ता लोकेन्द्र सिह भण्डारी लगायत आज बिमान मार्फत बैतडी आएका हुन । समिट एयरले हप्ताको एकदिन उडान भर्ने गरि नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा सुरु गरेको हो । पहिलो दिन शुक्रवार हवाई उडान गरिएको भएपनि अबदेखि बैतडीमा हप्ताको एक दिन मंगलबार नियमित उडान हुने समिट एयरले जनाएको छ । अब प्रत्येक मंगलबार बिहाज १० बजे धनगढीबाट बैतडीका लागी बिमान उड्ने भएको छ । धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैंया तोकिएको छ । यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण समेत गर्नुभएको थियो । नियमित हवाई उडान भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।