बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो
सुरेश महरा शनिबार, चैत २३, २०८१
दार्चुला: बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ। घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरू घर फर्कने क्रम बढेसँगै चहलपहल बढेको हो।
बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन्। बिसु पर्व आउनु पूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित बिष्ण भट्ट बताउछन्।
चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ। दार्चुलाको शैलेशिखर ४ सल्लेदार का पुष्पा धामीले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताए । पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उनको भनाइ छ।
नयाँ वर्ष तथा विसु पर्वमा भारत गएकाहरु घर फर्किन चलन छ । उनीहरुको आगमनले गाउँमा चहलपहल बढेको पनि उनले बताइन् । विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ । विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ ।
विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ ।