राजसंस्था, दल र जनता अटाउने मिलन बिन्दु खोजौं : पूर्वप्रधानमन्त्री चन्द
सुरेश महरा चैत २० बुधबार
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र जनता अटाउने मिलन बिन्दु पहिल्याउन आग्रह गरेका छन्। एक प्रेस वक्तव्य जारी गर्दै उनले राज्यका संरचनाप्रति आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको दाबी गरेका छन्।
‘सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरुमाथि जनविश्वास गुम्न गई आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको छ।’ उनले भने,‘यसैले अबको निकास भनेको बिना कुनै बिलम्ब नगरी सबैले आ-आफ्ना आग्रह-पुर्वाग्रह र अहम त्यागी राजसंस्था, राजनीतिक दलहरु र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनु नै हो ।’
मुलुक अब निषेधको राजनीतिबाट अगाडि बढ्न नसक्ने बताए। ‘मुलुक अब निषेधको राजनीतिबाट अगाडि बढ्न सक्दैन । राष्ट्रिय सहमति, सहकार्य र सबै पक्षबीच राष्ट्रिय एकता नै अबको निकासको अपरिहार्य मार्ग हो।’ उनले भने,‘दश वर्षको माओवादी द्वन्द र ०६२/०६३ को आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहिन र उत्तरदायित्व विहिनताको भूमरीमा फसेको छ ।’