जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड वैशाख ३ देखि पुर्चौडीमा हुने
हजारी महरा बैतडी : बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख पहिलो साता पुर्चौडी नगरपालिकामा हुने भएको छ ।जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीका अनुसार प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म पुर्चौडीको विशाल पार्क खेलमैदानमा हुने भएको हो ।
प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता रहनेछ ।पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।
स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनरत १८ वर्षमुनीका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरु खेलाइनेछन् ।
एक खेलाडीले एक विधामा मात्र भाग लिन पाउने जनाएको छ ।जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट हुनेछन् ।गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।