मिडिया सुरक्षित कहिले हुने ?
सुरेश महरा चैत्र १८ देशको चौथो अंगका रूपमा रहेको मिडियामाथि पटक पटक विभिन्न घटनाहरू घट्दै गइरहेका छन् । समाचारको विषयमा पत्रकारमाथि हातपात गर्ने, सामाजिक सञ्जालमा पत्रकार तथा मिडियाहरूलाई गालीगलौज गर्ने लगायतका क्रियाकलापहरू पछिल्लो समय बढ्दै गइरहेका छन् । जसका कारण प्रेस क्षेत्र असुरक्षित हुँदै गइरहेको छ ।
मिडिया सुरक्षित कहिले हुने ?तथा मिडिया क्षेत्र माथि भइरहेका हमलाहरूमाथि नियन्त्रण गर्न सरकारले तदारुकता नदेखाएका कारण पछिल्लो समय प्रेस जगत् नै असुरक्षित बन्दै गइरहेको छ । शुक्रवार राजावादी समूहले गरेको आन्दोलनमा समाचार संकलनका लागि गएका पत्रकारले ज्यान गुमाउनुप¥यो ।
कुनै घरभित्र बसेर भिडियो रिपोर्टिङ गरिरहेका पत्रकारलाई सोही घरमा गएर आगो लगाउनु कत्तिको न्यायोचित हुन्छ । त्यस्ता व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले तत्काल कदम चाल्नुपर्छ । प्रेसमाथि हुने यस्ता घिनौना र जघन्य अपराधहरूमाथि नियन्त्रण गर्नका लागि सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्दछ । प्रेस स्वतन्त्रताको रक्षा गर्नु सरकारको दायित्व हो । आफ्नो दायित्व बुझेर सरकारले देशको चौथो अंगका रूपमा रहेको मिडिया क्षेत्रलाई सुरक्षित भएको आभास दिलाउन सक्नुपर्दछ ।मिडिया समाजको महत्वपूर्ण हिस्सा हो । मिडियाले सूचना सञ्चार, समाजको सही चित्रण, र जनतासम्म सही जानकारी पु¥याउने कार्य गर्दै आइरहेका छन् । त्यति मात्रै नभई समाज तथा देशमा भइरहेका हरेक विकृतिहरूका विषयमा कलम चलाउने तथा त्यस्ता विकृतिहरूको अन्त्यका लागि आवाज बुलन्द गर्ने काम मिडियाले गर्दै आइरहेका छन् । यस्तो अवस्थामा प्रत्येक पटक पत्रकार तथा मिडियामाथि नै हुने हमलाका कारण देशको चौथो अंग हुँदा पनि सबैभन्दा बढी पत्रकारहरू नै थिचोमिचोमा परिरहेका छन् । सरकारले चौथौँ अंगका रूपमा मिडियालाई सम्मान दिएको भए पनि सुरक्षाको प्रत्याभूति दिलाउन सकेको छैन । देशभरमा समाचार लेखेकै भरमा गालीगलौज, धम्की तथा हातपात सम्मका घटनाहरू धेरै घटिरहेका भए पनि सरकार सो विषयमा अनजान झैँ बसेको छ । जनतालाई सत्य, तथ्य सूचना दिने सञ्चार जगत् नै नभए देशको भविष्य कहाँ पुग्ला ?