बैतडीका तीन वटै सुरक्षा निकायालाई अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण
सुरेश महरा बैतडी : डिभिजन वन कार्यालय बैतडीले जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण गरेको छ ।
जिल्लास्थित तीन ओटै सुरक्षा निकायालाई फायर र्याक , आगो निभाउने स्वाटर, हेलमेट, पन्जा र र्याक हुँ लगायतका अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरेको बन डिभिजन बैतडीका प्रमुख भरतप्रसाद भट्टले बताउनुभयो। सोमबार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरिएको प्रमुख भट्टले बताउनु भयो ।
डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार आगलागीका घटनाहरु नियन्त्रणका लागि सामग्रीहरु हस्तान्तरण गरिएको भट्टले बताउनुभयो । तीन ओटै सुरक्षा निकायलाई १०/१० सेटका दरले अग्नि नियन्त्रणका सामग्री वितरण गरिएको हस्तान्तरण गरिएको हो । ती सामग्री डिभिजन वन कार्यालयले नेपाली सेनाको श्रीबक्स गुल्म गढी व्यारेक, सशस्त्र प्रहरीको नेपाल नं. ५१ गुल्म हेड क्वाटर बैतडी र जिल्ला प्रहरी कार्यालय बैतडीलाई हस्तान्तरण गरेको प्रमुख भट्टले बताउनुभयो ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लास्थित ६ ओटा सव डिभिजन वन कार्यालयलाई समेत उक्त सामग्री हस्तान्तरण गरिने वहाँले बताउनुभयो । आगलागीको बढी जोखीम रहेका सामुदायिक बनलाई पनि अग्नि नियन्त्रणका सामग्री हस्तान्तरणको तयारी भैरहेको भट्टले बताउनुभयो । यो वर्षमा जिल्लामा आगलागीका बारेमा अहिले सम्म जानकारी नआएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।
जिल्लाका १० ओटै स्थानीयहरुमा बन अतिक्रमण, बनक्षेत्रको भोकाधिकार र आगलागी नियन्त्रण सम्बन्धी अन्तरक्रिया समेत गर्ने डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।