दोगडाकेदारमा कोल्ड स्टोर सञ्चालन,किसानलाई फाइदा
सुरेश महरा बैतडी चैत ८ : बैतडीको दोगडाकेदार गाउँपालिका–७ खोलामा निर्माण गरिएको शीतभण्डार(कोल्ड स्टोर) सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा निर्माण गरिएको उक्त कोल्डस्टोर सञ्चालनमा आएको दोगडाकेदार गाउँपालिकाका प्राविधिक शाखा प्रमुख, ईन्जिनियर शैलेन्द्र गिरीले जानकारी दिनुभयो ।
५० टनसम्म भण्डारण गर्न सकिने क्षमता रहेको उक्त शीतभण्डार संघीय सरकार र दोगडाकेदार गाउँपालिकाको करिब करोडको लगानीमा निर्माण भएको हो । तत्काललाई गाउँपालिका आफैैैले आलु भण्डारण गर्दै कोल्डस्टोर सञ्चालनमा ल्याएको छ । उहाँले भन्नुभयो,“ स्थानीय किसानले उत्पादन गरेको १० टन आलु किनेर कोल्डस्टोरमा भण्डारण गरेको हो जनाएको छ । गाउँपालिकाले किसानलाई अनुदान बिउ दिएको आलु उत्पादनपश्चात गाउँपालिका आफैले किनेको हो ।” किसानहरुले पनि आफूले उत्पादन गरेको तरकारी तथा अन्य कृषि उपजहरु कोल्डस्टोरमा भण्डारण गर्न पाउनेछन् ।
किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस भनेर कोल्ड स्टोर निर्माण गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि कोल्डस्टोर निर्माण गरिएको हो। उहाँले भन्नुभयो,“ किसानहरुको मागअनुसार नै कोल्डस्टोर निर्माण गरिएको हो । यसले कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनमा सहजता ल्याउने विश्वास छ । ” कोल्ड स्टोर नभएकै कारण सास्ती खेपिरहेका दोगडाकेदारका किसानलाई अब भने राहत भएको छ ।
गाउँमा कोल्ड स्टोर निर्माण भएपछि कृषि उपज सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने भन्दै किसानहरू खुसी भएका छन् । तरकारी,फलफुललगायतका कृषि उपजहरु भण्डारणका लागि कोल्डस्टोर बनेपछि सहज भएको स्थानीय किसान सुरेन्द्र भाटले बताउनुभयो । कोल्डस्टोरले किसानहरुले उत्पादन गरेका कृषि उपजको बेसिजनमा बजारिकरण गर्न पनि टेवा मिल्नेछ । उहाँले भन्नुभयो,“ कोल्ड स्टोरमा किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डार गर्ने र उचित समयमा बजारमा बिक्री गर्न सजिलो हुन्छ । उत्पादित कृषि उपज खेर पनि जादैन र बेमौसममा बजार पनि पनि पाउँछ ।”