छोरीसँगै कक्षा ८ को परीक्षा दिदै पुर्चाैडीका सुरेन्द्र
बैतडी फागुन २४ : बैतडीको पुर्चाैडी नगरपालिका–८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिदैछन् । उमेरले ४६ पुगेका बोहराले छोरी डम्मरासँगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागि भइरहेका छन् ।
सोही वडामा रहेको डिलाशैनी मावि मल्लादेहीबाट बुवाछोरी कक्षा ८ को परीक्षा दिइरहेका हुन् । मल्लादेही विद्यालयको कक्षा ८को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको छ । सानो उमेरमा कक्षा ५ सम्म अध्यायन गरेका बोहराले कक्षा ६ देखि डिलाशैनी माविमा छोरीसँगै पुनः अध्यायन सुरु गरेका थिए । बोहरा सोही विद्यालयका विद्यालय कर्मचारीको रुपमा पनि कार्यरत छन् ।
नेपालको संविधानले कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य गरेको र सोही लक्ष प्राप्तीका लागि भएपनि आफुले अध्यायन थालेको बोहराले बताएका छन् । “कक्षा ८ सम्मको शिक्षालाई सरकारले अनिवार्य शिक्षा भनेको छ, मैले पनि कक्षा ८ सम्म पढ्नै पर्ने ठानेर अगाडि बढेको हु,” बोहराले भने ।
डिलाशैनी माविका प्रद्यानाध्यापक बिरेन्द्र रतोकीले बोहराको पढाईप्रतिको लगावले नयाँ पुस्तालाई प्रेरणा दिएको बताएका छन् । “उहाँको यो इच्छाशक्तिले हामी सबैलाई प्रेरणा मिल्छ,” रतोकीले भने ।