चाडपर्बलाई लक्षित गर्दै बैतडी प्रहरीको यस्तो छ बिशेष सुरक्षा योजना
जनक साउद–असोज २६ / नजिकिदै गरेको दशैं तिहार जस्ता चाडपर्बहरुलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले बिशेष सुरक्षा योजना बनाएको छ । चाडपर्बको समयमा बिभिन्न अपराधिक गतिबिधिहरु बढ्न सक्ने भएकोले बिशेष सुरक्षा योजनाहरु बनाएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । गत बिगतका बर्षहरुमा घटेका बिभिन्न १६ ओटा अपराधिक घटनाहरुलाई मध्यनजर गर्दै बिशेष सुरक्षा योजना बनाएर टोली परिचालन गरेको गरिएको छ । दशैं तिहार चाडपर्बहरुमा नागरिकहरुमा बढी उमंग हुने भएकोले मदिरा सेवनबाट बिभिन्न घटनाहरु हुने गरेको भन्दै मदिरा नियन्त्रण पहिलो प्राथमिकता रहेको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
मदिराले बिगतका बर्षहरुमा पनी बिभिन्न अपराधिक क्रियाकलापहरु भएको भन्दै यो बर्ष मदिरा नियन्त्रण नै बैतडी प्रहरीको मुख्य प्राथमिकता रहेको उनको भनाई छ । यस्तै कोरोना महामारीले गर्दा रोजगारी गुमाएर घर फर्किएका युवाहरु पछिल्लो समय बिभिन्न अपराधिक गतिबिधिमा लागेको भन्दै उनीहरुलाई लक्षित गर्दै बिशेष निगरानी राखिने प्रहरीले जनाएको छ । चाडपर्बको समयमा खास गरी नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा जाने भएकोले चोरी डकैतीका घटनाहरु हुनसक्ने भन्दै बिशेष सर्तकता अपनाउन सचेत गराउदै प्रहरीले समुदाय स्तरमा माईकिङ गर्ने भएको छ । महिलाहरुले यात्रा गर्दा गरगहनाहरु प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ ।
कोरोना महामारी कायमै रहेकोले चाडबाडहरु मनाउदा बिशेष सुरक्षा सर्तकता र स्वास्थ्य मन्त्रालय तथा बिश्व स्वास्थ्य संगठनले दिएका मापदण्डहरु पालना गर्नको लागी जनचेतना जगाउने प्रहरीले जनाएको छ । यस्तै यस्तो समयमा यात्रुहरुलाई सास्ती हुने भन्दै बिभिन्न सार्बजनिक ठाउँहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको बैतडीका प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो । जिल्ला सदरमुकामको गोठलापानी बसपार्क, झुलाघाट, देहीमाण्डौ, पाटन, खोड्पे र ढोल्यामोड लगायत गरी आधा दर्जन बढी ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैँ तिहारको समयमा बिभिन्न ठाउँमा जुवातास पनी हुने भएकोले त्यसको नियन्त्रणका लागी प्रहरीको बिशेष टोली परिचालन गर्ने प्रहरीले जनाएको छ ।