नेपाल विद्यार्थी संघ बैतडीका १० पदाधिकारीद्वारा सामूहिक राजीनामा
बैतडी, २०८१ फागुन १८ – नेपाल विद्यार्थी संघ (नेविसंघ) बैतडीका विभिन्न तहका १० जना पदाधिकारीहरूले संगठनभित्रको असहमति, नेतृत्व तहको असहयोग, अपारदर्शी निर्णय प्रक्रिया तथा विद्यार्थीहरूको हकहित प्राथमिकतामा नपरेको भन्दै सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिने पदाधिकारीहरूका अनुसार, संगठनलाई लोकतान्त्रिक, पारदर्शी र विद्यार्थीमैत्री बनाउन गरिएका अनेक प्रयासहरू नेतृत्व तहले वेवास्ता गर्दै आएको थियो। जब संगठनभित्र संवादको वातावरण खस्कँदै गयो, निर्णय प्रक्रियामा पारदर्शिता हराउँदै गयो र विद्यार्थीको हकहित भन्दा व्यक्तिगत स्वार्थहरू हाबी हुन थाले, तब यी पदाधिकारीहरू बाध्य भएर संगठनबाट अलग हुने निर्णयमा पुगेका हुन्।
संगठन सुधारका लागि पटक–पटक गरिएका प्रयास असफल
राजीनामा दिने पदाधिकारीहरूले संगठनभित्र देखिएको असहज परिस्थितिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले संगठनलाई विधिसम्मत बनाउने, समन्वय सुधार्ने र विद्यार्थीका वास्तविक मुद्दाहरू उठाउने उद्देश्यले विभिन्न तहमा आवाज उठाए पनि नेतृत्व तहले बारम्बार ती मागहरूलाई बेवास्ता गरेको बताएका छन्।
संगठनभित्र सुधारका लागि भएका प्रयासहरूलाई नेतृत्व तहले न केवल वेवास्ता ग¥यो, बरु संगठनलाई अपारदर्शी र व्यक्तिगत स्वार्थमा आधारित बनाउँदै लगेको उनीहरूको आरोप छ। “हामी संगठनभित्र रहँदै यसको सुधारका लागि निरन्तर आवाज उठाइरहेका थियौं। तर, नेतृत्व तहले पारदर्शिता अपनाएन, विद्यार्थीहरूको हकहितका मुद्दा गौण बनाइयो, निर्णय प्रक्रियामा छलफल नै गरिएन। यस्तो अवस्थामा संगठनभित्र बसिरहनु निरर्थक ठान्यौं,” प्रवक्ता राजेन्द्र जोशीले भने।
उमेश भट्ट र राजेन्द्र जोशीः सुधारको लागि निरन्तर आवाज उठाउने युवा नेता
राजीनामा दिने पदाधिकारीहरूमध्ये केही महत्वपूर्ण युवा नेताहरू छन्, जसले संगठनभित्र सुधारको माग गर्दै निरन्तर पहल गर्दै आएका थिए।
उमेश भट्ट, जो दोगडाकेदार गाउँपालिका संयोजक थिए, यसअघि नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहिसकेका छन्। संगठन सुधारका लागि उनले लामो समयदेखि नेतृत्व तहमा आवाज उठाउँदै आएका थिए। उनले विद्यार्थी संगठनलाई पुनः विद्यार्थीमुखी बनाउने अभियान चलाइरहेका थिए, तर नेतृत्व तहको असहयोगका कारण अन्ततः उनले संगठन छोड्ने निर्णय गरे।
त्यसैगरी, राजेन्द्र जोशी, जो संगठनका प्रवक्ता हुन् र पहिले जिल्ला सदस्यको भूमिकामा पनि रहेर काम गरिसकेका छन्, संगठनभित्र निर्णय प्रक्रियालाई पारदर्शी बनाउन विशेष पहल गर्दै आएका थिए। उनले बारम्बार संगठन सुधारका लागि नेतृत्व तहसँग छलफलको पहल गरे पनि, नेतृत्वले ती मागहरूलाई सुनुवाइ नगरेको उनको गुनासो छ।
राजीनामा दिने पदाधिकारीहरूको सूची
१. राजेन्द्र जोशी – प्रवक्ता (पूर्व जिल्ला सदस्य)
२. गणेश साउद – जिल्ला सदस्य
३. उमेश भट्ट – दोगडाकेदार गाउँपालिका संयोजक (पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि)
४. राजेन्द्र सिंह धामी – डीलासैनी गाउँपालिका संयोजक
५. दिनेश घरेडी – जिल्ला सदस्य
६. लक्ष्मी जोशी – जिल्ला सदस्य
७. सुरेन्द्र प्रसाद जोशी – जिल्ला सदस्य
८. रमेश भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य
९. निशा भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य
१०. कलावती भट्ट – दोगडाकेदार गाउँपालिका सदस्य
संगठन सुधारका लागि प्रतिबद्धता
यद्यपि यी पदाधिकारीहरूले संगठनबाट अलग हुने घोषणा गरेका छन्, उनीहरूले विद्यार्थी संगठनको सुधार र विद्यार्थीहरूको हकहितका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।