बैतडीमा अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

बैतडी फागुन १५ : बैतडीमा आजदेखि मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरू भएको छ।

गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले प्रतियोगिताको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख जोशीले खेलकुद क्षेत्र प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो,”खेल र खेलाडीको विकासका लागि हामीले विभिन्न कार्यक्रम गरिरहेका छौं।खेलपूर्वाधार निर्माणमा समेत जोड दिएका छौं।”

मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष ईन्जिनियर ग्रिस चन्दको अध्यक्षता भएको उद्घाटन समारोहमा नगरप्रमुख जोशीसंगै बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलगायतको उपस्थिति रहेको थियोे ।उद्घाटन अगाडि बिहान छलिया नृत्य र बाजागाजासहित र्याली निकालिएको थियो।

उद्घाटन समारोहपश्चात भएको पहिलो खेलमा सुर्नया गाउँपालिका विजयी भएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो ।सुखद सुरूआत गर्ने क्रममा सुर्नयाले दोगडाकेदार गाउँपालिकालाई ३(० को सोझो सेटमा हरायो।

सुर्नयाले पहिलो सेट २५-१८,दोस्रो २५-२२ र तेस्रो२५-२३ को अंकमा जित निकाल्यो। मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको छ।

१८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने
ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.