बैतडीः पुर्चौडी नगरपालिकाको बिभिन्न बजारहरु अनुगमन,झण्डै २ लाख बराबरको अखाद्य बस्तु नष्ट

बैतडी–असोज २४ / बैतडीको पुर्चौडी नगरपालिकाको बिभिन्न बजारहरु अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति बैतडीको संयोजकत्वमा पुर्चौडी नगरपालिका भित्रका बिभिन्न बजारहरु अनुगमन गरिएको हो । अनुगमनका क्रममा नगरपालिका भित्रका बजारहरुबाट झण्डै २ लाख बराबरका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जानकारी दिनुभयो । बिभिन्न किराना पसल, होटल तथा मदिरा पसलहरुमा २ दिन गरिएको अनुगमनमा १ लाख ८५ हजार ४ सय १० बराबरका अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरिएको हो । असोज २३ गते नगरपालिकाको हाट बजार अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ, पेय पदार्थ र बिभिन्न जगं फुटहरु गरी १ लाख १० हजार ३ सय ६० मुल्य बराबरका म्याद नाघेका र लेबल नभएका अखाद्य बस्तुहरु नष्ट गरिएको हो । यस्तै असोज २४ गते गरिएको अनुगमनका क्रममा ७५ हजार ५० मुल्य बराबरका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख लेखकले जानकारी दिनुभयो । टोलीले यस अघि जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका बिभिन्न बजारहरु अनुगमन गरेको थियो । घरेलु तथा साना उद्योग बिकास समिति बैतडी, जनप्रतिनिधि , जिल्ला प्रशासन कार्यालय बैतडी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बैतडी र प्रहरी लगायत जिल्लाको सरोकारबालाहरुको संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गरिरहेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.