मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु

कैलाली मंसिर २६ : चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पीयन २’ को उत्कृष्ट ४ मा पुुगेर चर्चित बनेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हिक्मत महराको मृत्यु भएको छ ।

मंगलवार साँझ कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । मंगलवार साँझ गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा महरा गम्भिर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगी सँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएका थिए। त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए। उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए। कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका हिक्मतले विद्यार्थी हुँदै गर्दा कमेडि देखाउँदै आएका थिए।

उनका कमेडी विशेष गरेर समाजका विकृति, विसंगति र राजनीतिक परिदृश्यका बारेमा हुने गरेका थिए । गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थाइ रुपमा बसोबास गर्दै आएका थिए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.