बैतडीमा पनि लैंगिक हिंसा विरुद्धको अभियान शुरु, विभिन्न कार्यक्रमको आयोजना गरेर अभियान मनाइने
बैतडी मंसिर १० : ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ बैतडीमा पनि लैंगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ । दशरथचन्द नगरपालिका र विभिन्न साझेदार संस्थाहरुको सहयोग समन्वयमा आयोजना गरिएको १६ दिने अभियान आजदेखि शुरू भएको हो ।
अभियानको अवसरमा आज जिल्ला सदरमुकाम गोठलापानी देखि गढी सम्म प्रभातफेरी कोणसभाको गरिएको दशरथचन्द नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताउनुभयो । १६ दिन सम्म नगरपालिका भित्रका केहि बिद्यालयमा अभिमुखीकरण तथा विभिन्न कार्यक्रमको आयोजना गरेर अभियान मनाइने शाखा प्रमुख कुँवरले बताइन् ।
कार्यक्रममा जिल्ला समुन्वय प्रमुख खगेन्द्रसिंह धामी, दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अभियानका अवसरमा सरोकारवालाहरुले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद महसूस गर्न नपरोस् भनी शुभकामना दिनुभएको छ ।