बनारसी धाममा तोडफोड, छ लाखको चोरी
बैतडी कार्तिक २९ : बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाम विश्वनाथ मन्दिरमा चोरी भएको छ । बुधबार रातिको समयमा मन्दिरको मूल ढोकाको ताला तोडेर चोरी भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गणेशप्रसाद पन्तले बताए।
उनका अनुसार चोरले मन्दिर भित्र पसेर दानपेटिका भित्रको नगद रुपैयाँका साथै पूजा सामग्रीहरू चोरेर लगेको छ। मन्दिर भित्र रहेको सवा तोलाको सुनको प्रतिमा लगायतका अन्य पूजा सामग्री गरेर ५ लाख ७५ हजार रुपैयाँ बराबरको चोरी भएको पन्तले दाबी गरे।
यस्तै मन्दिरमा लगाएका २५ ओटा बल्ब, १२ ओटा रेलिङ पाइप र ५ सय मिटर खानेपानीको पाइप समेत चोरी भएको कोषाध्यक्ष पन्तले जानकारी दिए।
मन्दिरमा चोरी भएको विषयमा इलाका प्रहरी कार्यालय पाटनमा निवेदन आएको र सो विषयमा खोजी र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए।
चोरी भएको मन्दिरको स्थलगत निरीक्षण गर्दा मूल ढोकाको ताला तोडेको पाइएको र चोरी भएको सामग्री र रकम भने एकिन हुन बाँकी रहेको उनले बताए। मन्दिरमा चोरी गर्नेको खोजी भइरहेको उनको भनाइ छ ।