निङ्लाशैनीमा लागेको अनन्त चतुर्दशीको मेलामा २२ जना देउडिया सम्मानीत
हजारी महरा बैतडि असोज ३ : प्रसिद्ध निङ्लाशैनी भगवती मन्दिरमा अनंन्त चतुर्दशीको दिन लागेको मेला समापन गरिएको छ । भाद्र शुक्ल द्वादशीबाट शुरु भएको मेला बुधवार समापन गरिएको छ।
मेला समापनसगैँ मेलामा देउडियाहरुलाई सम्मान गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका—०२ देहिमाण्डौमा रहेको मन्दिरमा मेला व्यवस्थापन समिति र वडा कार्यालयको सहयोगमा देउडीयाहरुलाई सम्मान गरिएको मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले बताउनुभयो।
देउडा समापन का प्रमुख अतिथि दनपा नगर प्रवक्ता अजब पाण्डे रहेका थिए । देउडा संस्कृतिमा पुर्याएको योगदानको कदर गर्दै २२ जना देउडियाहरुलाई सम्मान गरिएको जनाईएको छ। मेलाको दिन देउडा खेलमा सहभागि २२ देउडियाहरुलाई सम्मान गरिएको वडाध्यक्ष सुर्य बहादुर बोहराले बताउनु भयो।
चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको छ। परापूर्वकालमा निङ्लाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको छ।
निङ्लाशैनी भगवती मन्दिरमा हरेक बर्ष चार पटक जात्रा लाग्ने गर्दछ। यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्ने गर्दछन्। महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको पूजारी भट्टले बताए।
निङ्लाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।